बाँदरे प्रवृत्तिदेखि कोही तर्सिन्न : माधव नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अझै पनि अध्यक्ष केपी शर्मा ओलीले राजामहाराजाको शैली देखाइरहेको बताएका छन्। पुष्पलाल मित्रता केन्द्रको आयोजनामा शुक्रबार ललितपुरमा भएको कार्यक्रममा नेता नेपालले अध्यक्ष ओलीलाई राजामहाराजाको संज्ञा दिएका हुन्।

‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो। माधव नेपाललगायत बाँकी सदस्यहरूमाथि गरिएको स्पष्टीकरणलाई आममाफी दिइन्छ। एम्नेस्टी इज ग्रान्टेड। महाराजधिराजको वाहा ! वाहा ! हामी खुसी हुनुपर्ने भो। यही हो प्रवृत्ति ? यसरी कम्युनिस्ट पद्धति भनिन्छ ? स्पष्टीकरण सोध्नु गल्ती भयो। मैले त्यो हतार गरेँ। मैले फिर्ता गरेँ भनेको भए उहाँको हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?,’ नेता नेपालले भने।

उनले ओलीका विषयमा बोल्नका लागि आफूले संयमता अपनाइरहेको पनि बताए। आफूले बोल्दा तलमाथि केही नहोस् भनेर बोलिरहेको तर ओलीले राजामहाराजाको शैलीमा आदेश दिने गरेको टिप्पणी गरे। यद्यपि आफूले ओली सुध्रिएलान् भनेर आश गरेको भएपनि त्यसो नभएको उनको भनाई छ।

नेपालले भने, ‘म त ओली सुध्रिन्छन् होला भनेको थिएँ। त्यही भएर म केही नबोलेर हिँडिरहेको थिए। हिजो चम्पादेवीमा त्यसै गरे। ख्याल गरेर बोलिरहेँ। साथीहरुले पनि त्यही सुझाएका थिए। भक्तपुरमा पनि त्यही गरेँ। बाँदर जुलुस ननिकाल्नू भनेँ। तर उल्टो भयो।’

उनले आफूलाई डरत्रास देखाउन ओली पक्षले घर घेर्न मान्छे पठाएको पनि आरोप लगाए। उनले कम्युनिष्टहरू विशेष धातुले बनेका भएकाले कसैको धम्कीबाट नडराउने बताए। ‘माधव नेपालको घरको छेउमा मार मुङ्ग्रेहरु २५ जना बसेका थिए। यसो हेरेँ उपारखुट्टी लगाएर बसेका’, उनले भने, ‘कस्ता कस्ता कहाँ गए, यिनीहरु आएर माधव नेपाल तर्सिँदैन। म विशेष धातुले बनेको छु। कसैसँग डराउँदिन।’

उनले ओलीप्रति लक्षित गर्दै अघि भने, ‘अहंकार कस्तो हुँदोरहेछ भने जति धैर्य गर्दा पनि उही शैली र उही तरिका देखियो। वादशाहलाई घोडामा झारियो तर सुध्रिएनन्’ नेता नेपालले ओलीको स्वेच्छाचारी प्रवृत्ति र लोकतन्त्रविरोधी कार्यशैलीका कारण समस्या भएको बताए।

‘हामीले कम्तीमा लोकतन्त्र जोगायौं, संसद जोगायौं’, उनले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि हामी लागिरहनेछौं। १२१ सिटको कम्युनिष्ट पार्टी ८३ सिटमा झरिसक्दा पनि चेतेका छैनन्। तर हामी लोकतन्त्र र संविधान जोगाउन लागिरहन्छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्