देशै छाडेर हिँडेका राजालाई काँग्रेसले फर्कायो : केपी ओली

KP sharma Oli
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रसले दमनकारी नीति स्थापनाकालदेखि नै लिएको आरोप लगाएका छन्। पुष्पलालको स्मृति दिवसमा ललितपुरको च्यासलमा भएको कार्यक्रममा उनले नेपाली कांग्रेसले आफूसँग सहकार्य नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले कांग्रेस सुरुवातदेखि नै लोकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न तयार नभएको आरोप लगाए।

अध्यक्ष ओलीले राजतन्त्र मान्ने वा नमान्ने सन्दर्भमा काँग्रेसमा अझै विवाद रहेको दाबी गरे। आफूलाई लोकतान्त्रिक पार्टी ठान्ने काँग्रेसले विगतमा संवैधानिक राजतन्त्रलाई आदर्श मानेर हिँड्नु आश्चर्यजनक रहेको उनको टिप्पणी थियो। ‘मित्र शक्तिहरूलाई एक्लाउन खोज्ने, अनेकथरी षड्यन्त्रकारी नन्दी भ्रिंगीसँग सहकार्य गर्ने काँग्रेसको नीति २००७ सालदेखिकै हो। आजको नीति पनि त्यही हो। लोकतन्त्र ल्याउन बलिदान गरेर आएको शक्तिसँग सहकार्य गर्न तयार नहुने, लोकतन्त्र विरोधी शक्तिसँग सहकार्य गर्ने काँग्रेसको नीति हो,’ उनले भने।

नेपाली कांग्रेस अहिले पनि प्रतिक्रियावादीसँग मिलेको ओलीको टिप्पणी छ। ‘लोकतन्त्र तथ्यहीन सामन्तवादसँग सम्झौता गर्ने सिद्धान्त होइन। लोकतन्त्र जनताको तन्त्र, जनता सार्वभौम रहेको तन्त्र हो,’ ओलीले भने, ‘कुनै परिवारमा जन्मेको आधारमा शासक छानिनु नपर्ने हो, तर, नेपाली काँग्रेसले त्यो गर्‍यो। नेपाली काँग्रेसले संवैधानिक राजतन्त्रलाई हिजो-अस्तिसम्म आफ्नो आदर्श बनायो। आज पनि त्यहाँ राजतन्त्रबारे विवाद चलिरहेकै छ।’

२००७ सालमा देश नै छाडेर हिँडिसकेका राजालाई नेपालमा फर्काउने काम काँग्रेसले नै गरेको उनले बताए। ‘नेपालमा प्रजातन्त्र आएपछि त्रिभुवन विजयी भएजस्तो देखियो। उनले नै प्रजातन्त्र दिए भन्ने देखियो । प्रधानमन्त्री मोहनशम्शेर नै भए। काँग्रेसले गृहमन्त्रीमा सम्झौता गर्‍यो,’ उनले थपे, ‘काँग्रेस विजयी भएजस्तो हुनुपर्ने थियो, तर कुनामा देखियो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्