नेपाल पक्षको निर्णायक बैठक जारी

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी समिति सदस्यहरू अबको रणनीति तय गर्न छलफलमा जुटेका छन्। स्थायी समितिका सदस्यहरूको बैठक केही बेरअघि सुरु भएको नेता नेपालको सचिवालयले जानकारी दिएको छ।

मंगलबार साँझ बसेका नेपाल पक्षका सांसदहरूको बैठकले बुधबारका लागि स्थायी समिति सदस्यहरूको बैठक तय गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने/नदिने आफ्नो समूहका सबै नेताहरुलाई नेता नेपालले बैठकमा डाकेका छन्। स्रोतका अनुसार सम्भवतः यो बैठक पार्टी फुटाएर अघि बढ्ने कि एमालेमै रहेर संघर्ष जारी राख्ने भन्नेमा निर्णायक हुने छ।

नेपालले मंगलबार देउवालाई विश्वासको मत दिने सांसदहरुसँग मात्रै लामो छलफल गरेका थिए। उक्त बैठकमा केही दिनिभत्रै आफ्नो समूहमा बहुमत जुट्न सक्ने सम्भावना रहेकोले ओलीलाई अध्यक्षबाट हटाउने रणनीतिका साथ अघि बढ्नेसम्मको छलफल भएको थियो। बैठकमा नेता मेटमणि चौधरीले ओली समूह त्यागेर धेरै सांसदहरु आफ्नो समूहमा आउने तयारीमा रहेको दाबी गरेका थिए।

गत आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका थिए। उनीहरूमाथि अनुशासनको कारबाही गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन्। अध्यक्ष ओलीले बोलाएको एमालेको केन्द्रीय समिति बैठक बुधबार पनि बस्दैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्