बालुवाटारमा महन्थ ठाकुर, देउवासँग के हुँदै छ कुरा ?

mahanta-thakur
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग ठाकुरले कुराकानी गरेका हुन्।

ठाकुरनिकट एक नेताका अनुसार प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको छ। जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेसम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ।

प्रधानमन्त्री देउवाले संविधान र कानुनले दिने कार्य गर्न आफू तयार नै रहेको त्यसक्रममा बताए। विश्वासको मत दिएकोमा धन्यवाद दिँदै उनले मधेशका माग सम्बोधन गर्न आफू सधैँ तयार रहेको बताएका थिए। सुरुमा प्रधानमन्त्री ओलीको पक्षमा रहेको जसपाको ठाकुर पक्षले अन्तिम समयमा आएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको थियो।

त्यस्तै, जसपाको उपेन्द्र यादव पक्ष भने देउवाको पक्षमा सुरुदेखि नै रहेको छ। पछिल्लो समयमा देउवालाई विश्वासको मत दिएको ठाकुर पक्ष पनि सरकारमा जाने सम्भावना रहेको चर्चाका बिच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। देउवा र ठाकुरबीचको भेटवार्ता बाक्लिएको छ। देउवाले विश्वासको मत पाएयता ठाकुरले दुई पटक बालुवाटार पुगेर भेटेका छन्।

देउवाले अहिलेसम्म कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्री मात्र नियुक्त गरेका छन्। मन्त्रिपरिषद् विस्तारबारे देउवा छलफलमै छन्। यता जसपाको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगमा विचाराधीन छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्