यी हुन् एमाले केन्द्रीय समिति बैठकका ९ एजेण्डा

uml
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय समितिको १० औं बैठक सुरु भएको छ। च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमालेको कन्द्रीय समितिको बैठक सुरु भएको हो। बैठकमा ९ एजेण्डामाथि छलफल हुने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए।

मंगलबारको बैठकमा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति, सर्वोच्च अदालतको असार २८ गतेको फैसला लगायतका विषयमा छलफल हुनेछ। पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा छलफल, पार्टीको आगामी कार्ययोजना, पार्टी सुदृढीकरण लगायतका एजेण्डामा आजको बैठकमा छलफल हुन लागेको हो।

सोमवार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। आजको बैठकपछि २२ जनालाई स्पष्टीकरण सोध्ने पत्र पठाउने तयारी छ। सोमबारको बैठकमा ओली निकट केन्द्रीय सदस्यहरुले पार्टीको निर्णय विपरीत गएका सांसदहरुलाई तत्कालै कारवाही गर्न माग गरेका थिए।

अदालतले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पार्टीको ह्वीप नलाग्ने आदेश दिएकाले ओली समूहमा ह्वीप उल्लंघन गर्नेलाई कसरी कारवाही गर्ने भन्नेमा अनौल देखिएको छ। आजको बैठकले ह्वीप उल्लंघन गरेर कसरी कारबाही गर्ने भन्ने विषयमा पनि निर्णय गर्ने जनाइएको छ। माधव नेपाल समूहले भने आफूहरुले अदालतले फैसला बमोजिम काम गरेको भन्दै ओली समूहले कारबाही गर्न नसक्ने बताउँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्