काठमाडौं। नेकपा एमाले नेता एवं बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकार परिवर्तन निश्चित रहेको बताएका छन्। केही दिनभित्र नै सरकार परिवर्तन हुने भन्दै पाण्डेले मुख्यमन्त्रीका लागि यस अघि चर्चामा रहेका व्यक्तिले नै एमालेका तर्फबाट सरकारको नेतृत्व गर्ने बताएका हुन्।
केन्द्रमा भएको राजनीतिक परिवर्तनले प्रदेशमा समेत प्रत्यक्ष असरहरू देखा परिरहेकोले सरकार परिवर्तन वर्तमान परिस्थितिको माग भएको उनले बताए। ‘केन्द्रको राजनीतिक परिवर्तनले बागमती प्रदेशमा पनि असर परेको छ। त्यो स्वाभाविक प्रक्रिया पनि हो। प्रदेश सरकारको अवस्था के हो भन्ने कुरा तपाई हामी सबैलाई थाहा भएकै कुरा हो। सरकार परिवर्तन वर्तमान परिस्थितिको माग पनि हो। केही दिन कुर्नुहोस् नेकपा एमाले कै नेतृत्वमा नाम चले कै व्यक्ति मुख्यमन्त्री हुनु बन्नु हुनेछ,’ उनले भने।
माधव नेपाल पक्षका नेता पाण्डेले प्रदेशमा राजनीतिक गतिविधि सञ्चालनको लागि आफूहरू तयारी अवस्थामा रहेको र केन्द्रीय निर्देशन पर्खिरहेको बताए। प्रदेश सरकारलाई जोगाउन यस अघि भएका सहमति र सहकार्यलाई मुख्यमन्त्री डोरमणि पौडेलका तर्फबाट कुनै पहल नभएको भन्दै सत्तापक्षकै फरक विचारधारामा रहेका सांसदहरूलाई हेप्ने र पेल्ने काम भइरहेको उनले बताए।
नेता पाण्डेले विगतका गलत क्रियाकलापहरूलाई सुधार्नका लागि पनि मुख्यमन्त्री पौडेलले सत्ता हस्तान्तरण गर्न सक्नु पर्ने बताए। उनले नेकपा एमालेको एकता कायम रहे मुख्यमन्त्री सहित मन्त्रीहरू फेरिने अन्यथा फरक पार्टी निर्माण गरी गठबन्धनको सरकारमा सहभागी भएर सरकारको नेतृत्वमा गर्ने बताए।
माधव नेपाल समूहले बागमती प्रदेश सरकार जोगाउन कै लागि पनि विपक्षी दलहरूको विरोधका बिच सरकारको नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको भन्दै सत्ता र शक्तिको आड बोक्नेहरूले विगतका इतिहास पनि पल्टाएर हेर्न जरुरी रहेको उनको भनाइ छ।
यस विषयमा पार्टीभित्र केही छलफल भएको जानकारी गराउँदै मुख्यमन्त्री पौडेलले पनि पद हस्तान्तरण गरेर पार्टी एकता जोगाउनका लागि योगदान गर्ने सहमति समेत गरिसकेको नेता पाण्डेले रातोपाटीसँग कुराकानीमा भनेका छन्। नेकपा एमालेको एकता जोगाउन नेता माधव नेपाल र उनी निकट नेता तथा कार्यकर्ताहरूको योगदानलाई पनि स-सम्मान कदर गर्नुपर्ने उनको धारणा छ।



लोकपाटी न्यूज

