काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद मेटमणि चौधरीले आफूहरू देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन्। सरकारमा सहभागी हुने निश्चित भए पनि कहिले सहभागी हुने भन्ने टुंगो नलागेको चौधरीको भनाई छ।
‘हामी सरकारमा जान्छौं। निर्णय हुन्छ,’ उनले भने। सर्वोच्च अदालतले संविधानको ७६ को ९५० अनुसार सदनमा सांसदलाई दलको ह्वीप नलाग्ने व्याख्या गरिसकेकाले आफूहरूलाई कुनै कारबाही गर्न निमल्ने नेपाल समूहका सांसदको दावी छ। उनीहरुले आफूहरुमाथि कारबाही गरिए फेरि मुद्दा हाल्ने चेतावनी समेत दिएका छन्।
सांसद चौधरीले आफूहरुमाथि कारबाही गर्न नमिल्ने बताए। उनले भने, ‘स्वतन्त्र सांसदलाई ह्वीप लाग्दैन। स्वतन्त्र सांसदको हैसियतमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको छ। त्यही सरकारमा जाँदा हामीलाई चाहिँ कारबाही हुन्छ र ? पार्टी होइन, केपी ओलीले गुट चलाउनुभएको हो। उहाँको कमिटीलाई अदालतले अस्वीकार गरिसक्यो। हामी माधव समूहमा छौं। उहाँले ओली गुट चलाइरहनुभएको छ। कारबाही हुँदैन।’
स्पष्टीकरण सोध्ने पत्र नआएको र आए पनि त्यो दलको नभई ओली गुटको भएकाले जवाफ नदिने पनि उनले बताए। सर्वोच्चले ह्विप नलाग्ने भनिसकेपछि स्पष्टीकरण र कारबाही कुनै अर्थ नरहेको उनको तर्क थियो। देउवाको पक्षमा मत दिने एमाले सांसदहरुले आज छलफल गर्दै छन्। सोही बैठकमा सरकारमा जाने/नजाने विषयमा छलफल हुने बताइएको छ।



लोकपाटी न्यूज

