काठमाडौं। नेपाली कांग्रेसले प्रविधिको प्रयोग गरेर महाधिवेशन गर्न सकिने गरी प्रविधि तयार पारेको छ। कोरोना महामारीकै अवस्थामा महाधिवेशन गर्नुपर्ने अवस्थाका लागि यस्तो विकल्प तयार पारिएको नेपाली कांग्रेस, सूचना सञ्चार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरले बताए।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना, सञ्चार तथा प्रचार विभागले ‘डिजिटल भोटिङ’ प्रविधिबाट महाधिवेशनमा भोटिङ गर्न सक्ने विकल्प ल्याएको हो। महाधिवेशनमा यो विकल्प प्रयोग गर्नका लागि भने केन्द्रीय समितिले निर्णय गर्नुपर्ने हुन्छ।
नेपाली कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने मिति तय गरेर तयारी थालेको छ। ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको थापा मगरले जानकारी दिए।
डिजिटल भोटिङ प्रविधिले ७ प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सक्ने क्षमता रहेको उनले बताए। सबै तहका अधिवेशनका लागि भने यो प्रविधिको विकास नगरिएको उनको भनाइ छ। प्रदेश र केन्द्रीय महाधिवेशनमा मात्रै यो प्रविधि प्रयोग हुने गरी बनाइएको छ।
यो प्रणालीअनुसार कांग्रेसले महाधिवेशन गर्दा महाधिवेशन प्रतिनिधि काठमाडौं वा प्रदेशका केन्द्रहरूमा उपस्थित भइरहनुपर्दैन। यो डिजिटल प्रविधि अहिले महाधिवेशनमा प्रयोग नभए पनि नेपाली कांग्रेसको सम्पत्तिको रूपमा आन्तरिक रुपमा सुरक्षित भएर रहने उनले बताए।
सचिव थापाका अनुसार ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिले मतदान गर्न सक्ने गरी प्रविधि विकास गरिएको छ। ‘प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको छ,’ विभागद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।



लोकपाटी न्यूज

