काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका २२ सांसदले विश्वासको मत दिएका छन्। देउवालाई माधव नेपाल पक्षका मात्र नभएर केपी ओली पक्षका सांसदले पनि विश्वासको मत दिए।
प्रतिनिधिसभामा आइतबार विश्वासको प्रस्तावमाथि मतदान हुँदा देउवाले १६५ मत पाएका हुन्। उनलाई कांग्रेसका अतिरिक्त माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाका सांसद्हरुले मत दिएका थिए। एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो। तर, पार्टी निर्णय विपरीत २२ सांसदले मत दिएका हुन्।
देउवाको पक्षमा मतदान गर्ने एमाले सांसदहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी रहेका छन्।
त्यस्तै सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले देउवालाई विश्वासको मत दिएका हुन्।



लोकपाटी न्यूज

