काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलालाई संरक्षण गर्दै राजनीतिक दलहरू अघि बढ्नु पर्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा उनले सर्वोच्चले प्रतिगमनतिर गएको देशलाई बचाउँदै जनताको आवाज सुनेर सदन ब्युँताएकाले त्यसलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने बताएका हुन्।
‘दुर्घटनाको डिलमा पुगेको संविधान र राजनीतिक व्यवस्थालाई अदालतले जोगाएको छ। प्रतिगमनतिर लम्किएको देशलाई बचाएको छ। यसलाई संरक्षण गरेर अघि बढौं,’ भट्टराईले भने। सर्वोच्चको व्याख्याले नेपालको संसदीय व्यवस्था परम्परागत नभएको व्याख्या गरेकाले संविधानको धारा ७६ (५) बारे गरिएको व्याख्याले निर्दलीयतालाई प्रोत्साहन नगरेको उनको भनाइ थियो।
भट्टराईले कुतर्क गरेर इतिहास बिर्सिने काम नगर्न प्रतिपक्षी एमालेलाई सुझाब पनि दिए। कुतर्क गरेर इतिहासलाई बिर्सने काम नगर्न उनले आग्रह गरे। ‘कूतर्क नगरौं। अपूर्ण र अधुरो छ तर अग्रगामी छ। आफ्नो दिल दिमाग लगाएर बनाएको संविधान हो। पुस ५ देखि जेठ ८ सम्म जुन घटना भए त्यो शोभनिय थियो ?’ उनले प्रश्न गरे। तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत ५ पुसदेखि गरेका हर्कत गलत भएको उनले बताए।
वेलामा विधेयक पेस नगर्ने अनि अध्यादेशबाट मनपरी ढंगले चलाउने काम लोकतन्त्र हुन्छ भन्दै उनले प्रश्न गरे। शक्ति सन्तुलनको सिद्धान्तलाई समेत ओली सरकारले अस्वीकार गरेको उनले बताए। अध्यादेशको आडमा संवैधानिक संस्थामा पकेटबाट मान्छे झिरेर ओली सरकारले राखेको उनले बताए।



लोकपाटी न्यूज

