काठमाडौं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अदालतमाथि आक्रोश व्यक्त गरेका छन्। सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि आक्रोशित बनेका ज्ञवालीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई राजासँग तुलना गर्दै मानमर्दन गरेका हुन्।
संसद् विघटनलाई असंवैधानिक भएको ठहर गरेका संवैधानिक इजलासका न्यायाधीशहरुलाई लक्षित गर्दै पहिले श्री ५ थियो अहिले श्रीमान् ५ भएको भन्दै मानमर्दन गरेका हुन्। ‘श्री ५ ले दिनुभएको न्याय माघ १९ मा कहाँ गयो हामी सबैलाई थाहा छ। आज ५ जना श्रीमानहरूबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुनु भएको छ। उति बेला श्री ५, अहिले श्रीमान् ५,’ ज्ञवालीले भने।
प्रतिनिधिसभा विघटन गलत भएको भए दलहरूले निर्णय गर्न दिनुपर्ने पनि उनले बताए। यसै गरी, उनले संसदीय राजनीतिमा विकृति दोहोरिएको पनि बताए। विगतमा पनि नेपाली काँग्रेस र एमालेका आफ्नै सांसदले मत नदिँदा ती पार्टी नेतृत्वका सरकार ढलेर संसदीय राजनीतिमा विकृति भित्रिएको स्मरण गरे।
‘प्रश्न को सरकारमा गयो वा गएन भन्नेमा होइन, प्रश्न संसदीय प्रणाली बलियो भयो कि भएन भन्ने हो। सही खेल भयो कि भएन भन्ने हो,’ एमालेका प्रवक्ता ज्ञवालीले भने। उनले भने, ‘विसं २०५२ मा प्रधानमन्त्री मनमोहन अधिकारी घाइते भएका बेला सदनमा आएर अविश्वासको प्रस्तावमाथि जवाफसमेत दिन नपाई हटाइएको थियो।’
उनले आफ्नो पार्टीलाई अप्रिय लागे पनि अदालतको फैसला आफूहरूले मान्ने तर शक्ति पृथकीकरणको राज्यको परिकल्पनामा खलल पर्न गएको टिप्पणी गरे। एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राष्ट्रियता, शान्तिपूर्ण राजनीतिको यात्राको थालनी, विकास र समृद्धिका क्षेत्रमा गरेका कामलाई जनताले सम्झिइरहने उनले विश्वास व्यक्त गरे।
उनले सर्वोच्च अदालतको गत असार २८ गतेको फैसला संसदीय राजनीतिका लागि दूरगामी प्रभाव पर्ने खालको भएकाले एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन नसक्ने स्पष्ट गरे।



लोकपाटी न्यूज

