क्रियाशील सदस्यता छानबिन करिब टुंगियो : प्रदीप पौडेल

pradip paudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको बताएका छन्। समितिका प्रवक्तासमेत रहेका पौडेलले ७५ जिल्लाबाट पठाइएका क्रियाशील सदस्यको फाइल हेरेर छानबिन प्रक्रिया टुंगिएको अवस्थामा पुर्‍याइएको बताए।

अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरूको पनि छानबिन गरेर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय भएको उनले बताए। १४औँ महाधिवेशनमा आठ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएको उनले बताए। तर, कतिपय सदस्य उजुरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन्। अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकाले आठ लाख ५० हजार क्रियाशील सदस्य कायम हुन सक्ने उनको भनाइ छ।

पुरानो कार्यतालिका पनि केही फेरबदल हुन सक्ने उनले बताए। ‘अब प्राविधिक पाटोको मात्रै काम बाँकी छ,’ पौडेलले भने, ‘तीन-चार दिनमा क्रियाशील सदस्यहरूको हार्डकपी बुझाउँछौं, सभापतिले केन्द्रीय समितिमा राखेपछि समितिबाट पास हुँदै निर्वाचन समिति र त्यहाँबाट वडामा जानेछ।’

क्रियाशील सदस्यता प्रारम्भिक मतदाता नियमावली भएकाले यो टुंगिएपछि धेरै काम सकिने र महाधिवेशनको काम चलिरहने उनले बताए। क्रियाशील सदस्यका लागि अधिकांश विषय सहमतिमै टुंगिसकेको र यसबाट नटुंगिएकालाई मापदण्डबाट टुंग्याएको उनले बताए। सहमति र मापदण्ड दुवैबाट नटुंगिएकालाई पदाधिकारीमा पठाइएको र यसरी नेताहरूकोमा पठाउने वडाको संख्या ७० भन्दा बढी रहेको पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्