काठमाडौं। नेकपा एमालेको विघटित एकता कार्यदलका सदस्यहरु छलफलमा जुटेका छन्। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरुबीच पार्टी एकताको विषयमा छलफल चलिरहेको छ। कार्यदलमा रहेका नेतासँगै पृथ्वी सुब्बा गुरूङ र योगेश भट्टराई पनि बैठकमा सहभागी भएका छन्।
शनिबार बस्ने बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एक नेताले बताए। ‘हामी कार्यदलका साथीहरू अनौपचारिक रुपमा छलफल गर्दैछौं। एकताका लागि हाम्रो प्रयास जारी रहन्छ,’ ती नेताले भने, ‘अबको १-२ दिनमा सकारात्मक परिणाम आउने गरी छलफल गर्छौ। कार्यदलले गरेको कामलाई कसरी कार्यान्यन गर्ने भन्नेमै हाम्रो छलफल हुन्छ।’
एमाले स्थायी समितिको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिँदै कार्यदल विघटन भएको घोषणा गरेको थियो। स्थायी समितिको बैठक रोक्न माग राख्दै एमाले उपाध्यक्ष भीम आचार्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र बैठक स्थल पुगेका थिए। तर नेपाल पक्षको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए।
ओलीको ध्यानाकर्षण गराएर नेपाल पक्षका नेताहरु वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए। स्थायी समिति बैठकमा वरिष्ठ नेता नेपाल पक्षधर नेताहरु सहभागी थिएनन्। त्यसपछि बसेको संसदीय दलको बैठकमा समेत नेपाल पक्षीय सांसदहरु सहभागि थिएनन्।



लोकपाटी न्यूज

