काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठकमा नेताहरूको अभिव्यक्ति र समर्थकको गतिविधिबारे छलफल भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा नेताहरूले सार्वजनिक अभिव्यक्तिमा ध्यान दिनुपर्ने विषय उठाएका थिए।
पार्टी एकता जोगाउने गरी जुटेको दश बुँदे सहमति अनुमोदन गरेको बैठकमा नेताहरूले एकतामा आँच पुग्ने गरी अभिव्यक्ति नदिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन्। ‘हुन त रिसको बेला मान्छे वेद पढ्दैन, तर शब्द चयनमा ध्यान दिऔं, संयमता अपनाऔं भन्ने छलफलमा भयो,’ बैठकमा सहभागी एक नेताले भने।
बालुवाटारबाट बालकोट फर्किएका ओलीले बार्दलीबाट भाषण गर्दै नेता माधव नेपाललाई गद्दारको संज्ञा दिएका थिए। ‘व्यक्ति नै किटान गरेर त बैठकमा कसैले केही भनेनन्, तर समग्रमा अभिव्यक्ति दिँदा शब्द चयन ठिक ढंगले गर्नुपर्छ भन्ने हो,’ अर्का स्थायी कमिटी सदस्यले भने, ‘अदालतको फैसलाबारे पनि उत्तेजना फैलाउने नभएर राजनीतिक भाषामा बोल्नुपर्छ भनेका छौं।’
बैठकमा अब कसरी अगाडि बढ्ने र कुन ढंगले प्रस्तुत हुने भन्नेबारेमा समेत छलफल भएको ती नेताको भनाई छ। बैठकले सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै लामो निष्कर्ष निकालेको छ। ‘निश्चित व्यक्तिका निश्चित आकांक्षा परिपूर्तिका लागि गरिएको संविधानको यस्तो अपव्याख्याले वस्तुतः संविधानको अप्रत्यक्ष संशोधन गरेको छ,’ एमाले बैठकले भनेको छ।
फैसलाप्रति ओली निकट समर्थकहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुतला दहन गर्ने कार्यलाई देशव्यापी बनाएका छन्। ‘फैसला असंवैधानिक भएकोमा असहमति त जनाउने, तर संयमता आवश्यक छ भन्ने हो,’ बैठक स्रोतले भन्यो।



लोकपाटी न्यूज

