बजेटबारे संसद बैठकले निर्णय गर्छ : अर्थमन्त्री शर्मा

Janardan-Sharma-Prabhakar-1
लोकपाटी न्यूज

काठमाडौं, १ साउन। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारले नयाँ बजेट ल्याउने कि नल्याउने भन्नेबारे संसदले आवश्यक निर्णय गर्ने बताएका छन्। शुक्रबार दिउँसो अर्थमन्त्रालयमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री सरकारले अध्यादेशबाट ल्याएको बजेट संसदमा पेश हुने बताए।

अर्थमन्त्री शर्माले भने, ‘‘हामी केही दिनभित्र अर्थतन्त्रको समग्र स्थिति समेटेर संक्षिप्त श्वेतपत्र सार्वजनिक गर्छौं। बजेटबारे हामी कुनै टुंगोमा पुगेका छैनौं। अघिल्लो बजेट अध्यादेशमार्फत् ल्याइएका कारण पर्सि बस्ने संसदको बैठकमा बजेट अध्यादेश निर्णयार्थ पेश हुन्छ। संसदले जे निर्णय गर्छ, हामी त्यहीअनुसार अघि बढ्छौं।’’

अर्थमन्त्री शर्माले संसदले बजेट अध्यादेश अस्वीकृत गरेपछि मात्र नयाँ बजेटको प्रक्रिया आरम्भ गरिने संकेत गरेका छन्। साथै उनले देशको समग्र अर्थतन्त्रको श्वेतपत्रका आधारमा अर्थमन्त्रालयको कार्ययोजना निर्माण गरिने पनि बताए।

‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर स्वेतपत्र ल्याइने छ ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले अहिले सूचकांकले देखाएको अवस्थालाई श्वेतपत्रमा समेटिने जानकारी दिए । अर्थ मन्त्रालय र सरकारको अर्थ नीतिसमेत श्वेतपत्रमा समेटिने उनले बताए। कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुंगानाले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक अवस्थाबारे संक्षेपमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्