काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी समिति बैठकबाट बाहिरिएका छन्। शुक्रबार करिब १२ बजेदेखि संस्थापन पक्षको स्थायी समिति बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा जारी छ।
बैठक चलिरहेका बेला नेपालपक्षबाट कार्यदलमा रहेका नेताहरु पुगेर अध्यक्ष ओलीसँग आग्रह गरेका थिए। नेपालपक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठक स्थल पुगेका थिए। उनीहरुले एमाले एकताका लागि एकलौटी बैठक गर्न नहुने भन्दै बैठक रोकेर सहमतिका लागि अघि बढ्न आग्रह गरेका थिए।
‘अहिले एमालेको एकता आवश्यक छ। देश र जनताका लागि एकता गर्नु अपरिहार्य छ,’ सोही आग्रह गरेर बाहिरिएपछि रावलले पत्रकारहरुसँग भने, ‘त्यसैका लागि अध्यक्ष ओलीसँग बैठक रोक्न माग गरेका हौं।’ तर जवाफमा ओलीले बैठकमा सहभागि भएपछि बस्न भनेको र बैठक जारी रहने बताएको रावलले बताए। बैठक रोक्न नमानेपछि आफूहरु बैठकस्थलबाट बाहिरिएको पनि रावलले बताए।
एमालेको पार्टी विवाद समाधान गर्न गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो। तर दुई पक्षबीचको विवाद समाधान भएको भनिएको भोलिपल्टै सर्वोच्च अदालतको आदेशबाट ओलीले प्रधानमन्त्री पद त्याग्नु परेको थियो।
त्यसपछि एमालेको विवाद फेरि बल्झिएको अनुमान गरिएका बेला ओलीले स्थायी समिति र दलको बैठक डाकेका हुन्। ओलीले बालुवाटारबाट बालकोट पुगेर अब वरिष्ठ नेता माधवकुमार नेपाल एमालेमा रहने कुनै सम्भावना नरहेको बताएका थिए।



लोकपाटी न्यूज

