एमाले बैठकस्थलमा पुगे नेपाल पक्षका नेता

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठान च्यासलमा पार्टी स्थायी समितिको बैठक बोलाएका छन्।

बैठकमा सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थिति, पार्टीभित्र देखिएको विवादलगायतका विषयमा छलफल हुने बताइएको छ। बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी समिति सदस्यहरु पनि पुगेका छन्।

बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु भीम रावल, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुसाल र भीम आचार्य बैठकमा स्थलमा पुगेका हुन्। तर उनीहरु नआउँदै बैठक सुरु भयो। बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गर्न आएको नेताहरुले बताएका छन्।

‘तपाईंहरु बैठकमा सहभागी हुन आउनुभएको हो ?’ भन्ने प्रश्नमा माधव पक्षका कार्यदलका संयोजक भीम रावलले भने, ‘हामी बैठक रोक्नका लागि आग्रह गर्न आएका हौं।’ बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ।

त्यस्तै, केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन्। बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छ।