जनमोर्चाले देउवालाई विश्वासको मत दिने : मन्त्रीमा दाबी नगर्ने

Chitrabahadur kc
लोकपाटी न्यूज

काठमाडौं।राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाईसंसदमा विश्वासको मत दिने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्रीमा नियुक्त देउवाले २७ साउनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान छ।

यसअघि बनेको पाँच दलीय गठबन्धनमा पनि सहभागी भएको जनमोर्चाले विश्वासको मत दिए पनि सरकारमा आफ्नो सहभागिता नजनाउने निर्णय गरेको हो। बुधबार पार्टीको बैठकले यस्तो निर्णय गरेको भन्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति पनि सार्वजनिक गरेका छन्।

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केपी शर्मा ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो दलले समर्थन गर्दछ। देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय भएको छ। देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ।’

जनमोर्चाकी एक मात्र सांसद दुर्गा पौडेलले आफूहरुले सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी नहुने र बाहिर रहेर सरकारका काममा सहयोग गर्ने निर्णय गरेको जानकारी दिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्