काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर विश्वासको मत लिने बेला सहयोग गर्न आग्रह गरेका छन्।
बुधबार साँझ प्रधानमन्त्री देउवा आफै नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। नेपाल निवासमा भएको छलफलका क्रममा देउवाले विश्वासको मतमा सहयोग गर्न आग्रह गरेको र त्यसलाई नेपालले स्वीकार गरेको नेताहरुले जानकारी दिएका छन्। देउवा र नेपालबीचको भेटवार्तामा सहमागि एमाले नेता विरोध खतिवडाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि आफूहरु प्रतिवद्ध रहेको र फैसलाअनुसार नै गठबन्धन अघि बढ्ने बताए।
यसअघि नेता नेपालले अब गठबन्धनबाट बाहिरिएको घोषणा गरेका थिए। तर बुधबार भने विश्वासको मत दिने प्रतिवद्धता जनाएका हुन्। प्रधानमन्त्री देउवाले १ महिना भित्र संसदमा बहुमत सिद्ध गर्नुपर्नेछ। जसका लागी केपी ओलीलाई विस्थापित गर्न महत्वपूर्ण भुमिका खेलेको एमालेको खनाल-नेपाल समुहको साथ आवश्यक छ।
एमालेको खनाल-नेपाल समुहले विश्वासको मत नदिए सत्तामा टिकि रहन प्रधानमन्त्री देउवाले जसपा दुवै समूहको साथ पाउनुपर्ने छ। तर जसपाको महन्थ-राजेन्द्र समुह नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा संलग्न छैन। विगतमा यो समुहले आफ्ना माग सम्बोधन गरेको भन्दै निवर्तमान प्रधानमन्त्री ओलीलाई साथ दिएको थियो। महन्थ-राजेन्द्र पक्षीय जसपा नेता लक्ष्मणलाल कर्णले आफ्नो माग सम्बोधन गरेको खण्डमा देउवालाई सघाउन सकिने बताउँछन्।
प्रधानमन्त्री देउवाको सत्ता सुख प्रतिनीधि सभामा नेपाल खनाल पक्ष र जसपाको महन्थ राजेन्द्र पक्षको असहयोग र असहयोगमा निर्भर छ। देउवाले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधि सभाको यो कार्यकाल तेस्रो पटक विघटनमा पर्ने पक्का छ।



लोकपाटी न्यूज

