काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच कोटेश्वरमा छलफल भएको छ। नेता नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपालनिवास कोटेश्वर पुगेका हुन्। भेटमा दुई नेताबीच नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुन लागेको बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक कदम चालेपछि सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। देउवासहित पाँच मन्त्रीले मंगलबार राष्ट्रपति निवास शतिल निवासमा शपथ ग्रहण गरेका हुन्। नेपाल मंगलबार भएको देउवाको सपथ ग्रहणमा पनि सहभागी भएका थिए। शितल निवासमा उनले देउवालाई बधाई दिएका थिए।
देउवा नेतृत्वको सरकार गठन हुनुपर्ने दाबसहित कांग्रेस, माओवादी, जसपा(बाबुराम-उपेन्द्र) समूह, जनमोर्चा र एमालेकै माधवकुमार नेपाल समूहका सांसदले सर्वोच्चमा हस्ताक्षर बुझाएका थिए। नेपाल समूहका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै अदालतमै उपस्थित भएर हस्ताक्षर गरेका थिए।
अदालतको परमादेशसँगै पद गुमाएका एमाले अध्यक्ष ओलीले नेता नेपाललाई एमालेमा बस्ने कुनै अधिकार नभएको भन्दै आज बालकोट पुगेर आक्रोश पोखेका थिए। उनले नेता नेपाललाई राष्ट्रिय गद्दार भन्दै एमालेमा ठाउँ नभएको पनि बताए।
प्रधानमन्त्री नियुक्त भएका देउवाले अबको एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने छ। एमालेकै नेपाल समूहका २३ सांसदले पनि मत दिए मात्रै देउवाले विश्वासको मत प्राप्त गर्नेछन्।



लोकपाटी न्यूज

