काठमाडाैँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन्। राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद समाधान भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन्। संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास पुगेको स्राेतकाे भनाइ छ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति देउवाले आपत्ति जनाएका थिए। बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका थिए। राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाको आपत्ति थियो। आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका थिए।
साँझ ६ बजे शपथग्रहणको कार्यक्रम राखिए पनि विज्ञप्तिबारे विवाद भएपछि ढिला गरेर शपथग्रहण हुन लागेको हो। देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।



लोकपाटी न्यूज

