काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन युवा संघले यूथफोर्स ब्युँताएको छ। माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को विरुद्धमा गठन गरिएको यूथफोर्स फेरि ब्युँतिएको घोषणा गरिएको हो।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा युवा संघका इञ्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले यूथ फोर्स क्षितिज थेवेको नेतृत्वमा ब्युँतिएको घोषणा गरेका हुन्। ‘बालुवाटारदेखि बालकोटसम्म यूथफोर्सको लाइन हुनेछ। आजबाट ब्युँतिएको यूथफोर्सले बालुवाटारदेखि बालकोटसम्म अध्यक्ष केपी ओलीको स्वागतमा र्याली निकाल्नेछ,’ उनले भने।
संघका अध्यक्ष किरण पौडेलले फैसलाविरुद्ध जुध्न यूथफोर्ससमेत ब्युँताउँदै प्रतिवाद गर्ने निर्णय गरिएको बताए। उनले भने, ‘आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म लडिरहनेछौं। कुनै पनि हालतमा हामीलाई फैसला स्वीकार्य छैन।’ अदालतले गरेको फैसला असंवैधानिक, गैरन्यायिक फैसला, नेपाली जनता र युवा र देशको भविष्यको निम्ति खतरा रहेकोसमेत अध्यक्ष पौडेलले बताएका छन्।
उनले भने, ‘यसले द्वन्द्व, अस्थिरता र राजनीतिक भ्याकुम निर्माण गर्ने देखिन्छ।’ देशको हित नचाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्त्वले उक्त फैसला गराएको भन्दै देशलाई अविच्छिन्न आन्दोलनको रणभूमि बनाउने डिजाइन भएको उनले बताएका छन्।



लोकपाटी न्यूज

