कोटेश्वरमा सुरुभयो विपक्षी गठबन्धनको बैठक

Bipaxi_gathabandhan
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि उत्पन्न विशेष परिस्थितिका बारेमा छलफल गर्न विपक्षी गठबन्धनको बैठक सुरु भएको छ। नेकपा एमालेका नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु भएको हो।

बैठकका लागि नेकपा माओवादी केन्द्र, कांग्रेस, जसपाका नेताहरु नेपाल निवास पुगेका हुन्। बैठकमा नेता नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र बालकृष्ण खाँड, जनता समाजवादी पार्टीका बाबुराम भट्टराई र उपेन्द्र यादव, महेन्द्र राय यादव लगायतका नेताहरु सहभागी छन्।

सर्वोच्च अदालतले सोमबार दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापित गरेको हो। बहुमत सांसदको समर्थन भएकोले विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ। सात दिनभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश दिएको छ।