काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बस्दैछ। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्नको लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिबारे धारणा बनाउन नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीका अनुसार सहमतिबारे आधिकारिक धारण बनाउनको लागि आफूहरुको टिमको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। सोही बैठकले सहमतिबारे धारणा बनाउने झाँक्रीको भनाई छ।
आइतबार करिब १४ घण्टा बसेको कार्यदलको बैठकले करिब साढे १० बजे राति १० बुँदे सहमति गरेर सार्वजनिक गरेका थिए। तर, सो सहमतिबारे प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गलत ब्याख्या गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाइसकेका छन्। ओली निकटका नेताहरुले सहमतिको गलत व्याख्या गरेको भन्दै नेपालले अदालतको निर्णयलाई प्रभावित पार्ने गरि कुनै पनि सहमति नहुने स्पष्ट पारिसकेका छन्।
त्यस्तै, नेतृ झाँक्रीले स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी १० बुँदे सम्झौता कार्यान्वयन योग्य नहुने बताउँदै बैठकमा सहभागी नहुने बताएकी छिन्। झाँक्रीले पनि अदालतमा निवेदकको रूपमा रहेका आफूहरुले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेकी छन्। साथै, उनले सहमतिबारे भ्रममा नपर्न, हतारमा स्वागत नगर्न तथा निरास पनि नहुन आग्रह गरेकी छन्।



लोकपाटी न्यूज

