भरतपुर महानगरद्वारा स्वास्थ्य स्वयंसेविकालाई ५० हजार नगदसहित सम्मान र बिदाई

samman
लोकपाटी न्यूज

चितवन। भरतपुर महानगरले नेपालमा नै पहिलो पटक ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ गरेको छ। लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविका भएर महिला दिदीबहिनीको स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजारसहित प्रमाण पत्र र खादाले सम्मान गरेको हो।

नगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित महानगरले भब्य सम्मान र बिदाइ गरेको हो ।

विगत ३५ वर्ष भन्दा बढि समयदेखि लगातार सेवामा रहनुभएका आमा तथा दिदिहरुलाई खालिहात पठाउन मनले नमानेपछि महानगरपालिकाले नीति बनाएर ऐन र कानुनमा टेकेर उनीहरुका लागि नगदसहित सम्मान र बिदाई गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन्।

सधै सेवामै खटिने आमा तथा दिदिहरुका लागि ५० हजार नगद खास ठूलो नभएपनि महानगरले नमूना कामको थालनी गरेको र आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाको हितमा महानगर निरन्तर लाग्ने दाहालले बताइन्। उनीहरुका लागि चाडपर्व भत्ता देखि अरु कँहा के गर्न सकिन्छ आफुहरुले छलफल गरिरहेको र सहयोग गरिरहने प्रतिवद्धता जनाइन्।

सो अवसरमा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले निः स्वार्थ रुपमा समाजमा काम गरेका स्वयंसेविकाहरुलाई सम्मान गर्न पाउदा खुसि लागेको बताइन्। सेवाबाट अवकास लिएपनि आउने नयाँ पुस्तालाई आफ्नो ज्ञान दिन र आवश्यक परेका बेला समाजमा सेवा गरिरहन उनले आग्रह गरिन्।

महानगरले आगामी दिनमा पनि महानगरमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुको हितमा धेरै कार्यहरु गर्ने पनि बताइन्। सम्मान भन्ने कुरा सानो भएपनि त्यसले ठुलो महत्व राख्ने बताउदै उनले यो सम्मानले आगामी दिनमा थप उर्जा प्रदान गर्ने बताइन्।

सो अवसरमा महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले निस्वार्थ भावले लामो समयसम्म काम गरेका महिला आमा तथा दिदीबहिनीलाई सम्मान गर्र्नु आफैमा सार्थक कामको सुरुवात भएको बताइन्।

आगामी दिनमा पनि महिला स्वास्थ्य स्वयंसेविकालाई कसरी सहयोग गर्न सकिन्छ त्यता तर्फ आफुहरुको ध्यान जाने उनको भनाई छ। समाजमा धन सम्पति भन्दा पनि सेवाले ठुलो छाप छोड्ने हुदा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको समाजले सधै चर्चा गर्ने खतिवडाको भनाई छ।

त्यस्तै भरतपुर महानगर प्रवक्ता अरुण पिडित भण्डारीले निस्वार्थ भावनाले आफनो कर्मलाई सधै शिरमा राखेर जनताको सेवामा समर्पित भएर हिड्ने स्वास्थ्य स्वयंसेविका प्रति आफुहरु निकै खुसि भएको बताए। महिला स्वास्थ्य स्वयंसेविकाको योगदान समाजमा उच्च रहेको उनको भनाई थियो।

कहि कतै एउटाले छोड्दै गर्दा अर्को स्वास्थ्य स्वयंसेविका नियुक्ती गर्दा त्यही परिवारमा पुस्ता हस्तान्तरण हुने प्रबृति पनि देखिएकाले यसको हकमा पनि स्वास्थ्य शाखाले ध्यान दिन आवश्यक रहेको पनि बताए। भरतपुर महानगर २१ का अध्यक्ष चित्रसेन अधिकारीले महानगरले राम्रो कामको सुरुवात गरेको र आगामी दिनमा पनि यस्ता कामले निरन्तरता पाउने बताए।

स्वास्थ्य स्वयंसेविका सञ्जाल भरतपुर महानगर अध्यक्ष सुभद्रा श्रेष्ठले महानगरले आफुहरुका समस्या समाधानमा ध्यान दिएको र आगामी दिनमा पनि थप सहयोग हुने कुरामा आफुहरु धेरै आशावादी रहेको बताइन्।

भरतपुर महानगर वडा नम्वर २७ की महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी भुषालले महानगरले नगद सहित सम्मान गरेपछि आफुलाई निकै भाग्यमानी महशुस गरेको बताइन्। उनले यो रकमले सुनको गहना किन्ने बताइन् । भरतपुर १६ मा कार्यरत लिलादेवी पौडेलले महानगरले सम्मान गरेको रकम बाट धार्मीक कार्यमा खर्चो गर्ने चाहना प्रकट गरिन् ।

भरतपुर महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले महानगरमा कार्यरत २ सय ७ जना मध्ये पछिल्लो कार्यबिधिमा उल्लेख्य भएको व्यवस्था अन्तर्गत आफुहरुले ३६ जनालाई बिदाइ गर्ने योजना अनुसार नगद सहित सम्मान गरेर बिदाइ गरेको बताए। अझै केही स्वयंसेविका ६० वर्ष उमेर पुगेका र बिदाई हुन नचाहनेहरु पनि रहेका र उनीहरुलार्ई अर्को वर्ष बिदाइ गरिने उनकोे भनाई छ ।

भरतपुर महानगर जनस्वास्थ्य प्रवर्धन शाखाका निमित्त प्रमुख सुर्य तिवारीले मात्रि मृत्युदर र बाल मृत्युदर घटाउन स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपुर्ण रहेको बताए। ४५ सालदेखि राज्यले स्वास्थ्य स्वयंसेविका नियुति गर्ने र परिचालन गर्ने योजना बनाएको र त्यही कार्यक्रम अन्तर्गत महानगरमा पनि महिला दिदीबहिनीहरुले निरन्तर काम गरिरहेको उनले बताइन्। बच्चा र आमाको स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपूर्ण रहेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्