संसद् चलाउने विषयमा सत्तापक्षसँग कुनै सहमति भएकाे छैन् : शालिकराम जम्मकट्टेल

लोकपाटी न्यूज

काठमाडाैँ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका नेता शालिकराम जम्मकट्टेलले संसद् चलाउने विषयमा सत्तापक्षसँग कुनै सहमति नभएको बताएका छन्। यद्यपि, विपक्षी दलहरूको मागका बारेमा मुख्यमन्त्री डोरमणि पौडेलको सम्बोधनका लागि बैठक आह्वान गरिएको उनले बताए।

उनले संसद चलाउने विषयमा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठसँग केहि दिनदेखि लगातार छलफल भइरहेको भएपनि कुनै सहमति हुन नसकेको बताए। संसदमा विपक्षी दलहरुले उठाएका मागहरुलाई सत्तापक्षले सम्बोधन नभएसम्म बैठक चल्न नदिने भन्दै मुख्यमन्त्री पौडेलको आग्रहमा आइतबारको प्रदेशसभामा सत्तापक्षको धारणा सुन्नका लागि मात्रै संसद् आह्वान गरिएको नेता जम्मकट्टेलले बताए।

‘मुख्यमन्त्री र सभामुखसँगको छलफलमा विपक्षी दलका नेताले आफ्नो धारणा राखेको र मुख्यमन्त्रीले संसदबाटै आफ्ना कुरा राख्ने आग्रह गरेपछि सभामुखले भोली ११ः३० बजेका लागि बैठक आह्वान गर्नुभएको हो’ उनले भने। उनले विपक्षी दलहरुले उठाएका मागका बारेमा मुख्यमन्त्री पौडेलको सम्बोधन पछि मात्र प्रदेशसभा बैठकमा आगामी कदम अगाडि बढाउने उनले बताए।

‘हामीले हाम्रो माग छोडेका छैनौ, प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको सम्बोधनमा विपक्षी दलहरुको माग सम्बोधन भए प्रदेशसभा बैठक चल्छ नत्र हाम्रो अडान कायम हुन्छ ’ नेता जमरकट्टेलले भने। सरकारले निर्लज्ज भएर संसदीय मर्यादा विपरित विधि र पद्धति मिचेर प्रदेशसभाको बैठकमा विनियोजन विधेयकसँगै पि.एल.एम.वि.आइ.एस सिस्टममा प्रविष्ट नगरिएको बजेट विवरणको २ प्रकारका पुस्तक वितरण गरेको उनको भनाई छ।

उनले विपक्षी दलहरुले उठाएका विषयमा सहमति जनाएर बजेट पास गर्न सत्तापक्षलाई आग्रह गरे। विपद् व्यवस्थापन र कोरोना संक्रमण नियन्त्रणमा ध्यान नदिएको, विपद् व्यवस्थापनको बजेट संघीयता विपरीत जिल्ला प्रशासन कार्यालयमा नपठाइ, सिधै स्थानीय तहमा पठाउनुपर्ने, सशर्त तर्फको बजेट र योजनाको बाँडफाँडमा सत्तापक्ष र प्रतिपक्षबीच विभेद रोक्नुपर्ने, प्रदेश सरकार मातहतमा आमसञ्चार गृह सञ्चालन, विद्युतीय बस खरिद प्रकृया र सुरुङ मार्ग निर्माणको निर्णय फिर्ता हुनुपर्ने भन्दै गत असार १९ गतेदेखि प्रदेशसभा बैठकमा विपक्षी दलहरुले अवरोध गर्दै आएका छन्।

बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली काँग्रेस, विवेकशील साझा पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अवरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्