भारतमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Petrol Pump
लोकपाटी न्यूज

एजेन्सी। भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ। शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमशः १०० रूपैँया ९१ पैसा र ८९ रूपैँया ८८ पैसा (भारू) प्रति लिटर कायम भएको छ। दिल्लीमा पेट्रोल यसअघि भन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ।

अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन्। देशभर दरहरू बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ। महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रति लिटर १०६ रूपैँया ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रति लिटर ९७ रूपैँया ४६ पैसा पुगेको छ।

महाराष्ट्रका उप मुख्यमन्त्री अजित पवारले शुक्रबार भने, ‘पेट्रोल र डिजेलको उच्च मूल्यमा दबिएका आम नागरिकलाई राहत दिन केन्द्रले ठूलो मन बनाउनुपर्ने र इन्धनको करलाई घटाउनुपर्ने देखिएको छ।’ मध्य प्रदेशको भोपालमा पनि पेट्रोलको मूल्य बढेको छ। यहाँ पेट्रोल प्रति लिटर १०९ रूपैँया २४ पैसा र डिजेलमा प्रति लिटर ९८ रूपैयाँ ६७ पैसा तोकिएको छ।

त्यस्तै कलकत्तामा पेट्रोल प्रति लिटर १०१ रूपैँया ०१ पैसा र डिजेलमा प्रति लिटर ९२ रूपैयाँ ९७ पैसा कायम भएको छ। उत्तर प्रदेशका भाजपा राज्यसभा सांसद हरदीप सिंह पुरीले बिहीबार केन्द्रीय पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रीको पदभार लिएका थिए। मन्त्रीको जिम्मेवारी सम्हालेसँगै उनले कच्चा तेल र प्राकृतिक ग्यासको स्वदेशी उत्पादन बढाउने बताएका थिए।

उनले भने, ‘हाम्रो ध्यान कच्चा तेल र प्राकृतिक ग्यासको बढ्दो घरेलु उत्पादनमा केन्द्रित हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको एक आत्मनिर्भर भारतको अवधारणा अनुरुप हामी मुलुकमा प्राकृतिक ग्यास आधारित अर्थतन्त्रको विकासतर्फ काम गर्ने छौं।’