कार्यदलको बैठक अगावै बाहिरिए नेपाल पक्षका नेताहरू

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक नबस्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू सिंहदरबारबाट बाहिरिएका छन्। कार्यदलमा रहेका नेपाल पक्षका पाँचै जना नेताहरू सिंहदरबारबाट बाहिरिएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू भने सिंहदरबारमै छन्। ‘केही परामर्श गर्नुपर्ने छ। अहिले हामी विषयवस्तुमा प्रवेश गर्न सकेनौं। अनौपचारिक छलफल मात्रै गर्‍यौं। एक-डेढ घण्टापछि हामी पुनः आउने छौँ,’ कार्यदल सदस्य रहेका गोकर्ण विष्टले भने।

तर स्रोतका अनुसार सर्वोच्च अदालतमा परेको संसद् विघटनविरुद्ध तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान ओली पक्षले दोहोर्‍याएको र त्यसलाई अस्वीकार गरी उनीहरू बाहिरिएका हुन्। स्रोतले भन्यो, ‘हस्ताक्षर फिर्ता लिने/नलिनेबारे अझै निर्णय भइसकेको छैन। त्यसैले बैठक बस्न नसकेको हो।’

स्रोतका अनुसार उनीहरू माधव नेपाललाई भेट्ने कोटेश्वर गएका हुन्। नेता नेपालले शुक्रवार पार्टी एकताका लागि अरू विषयमा सहमति हुनसक्ने भए पनि सर्वोच्चको हस्ताक्षर फिर्ता नलिने अडान दोहोर्‍याएका थिए। कार्यदलका सदस्यहरूले हिजो सात घण्टा लामो वार्तापछि पार्टी एकताका लागि सहमति भइसकेको र केही भाषिक परिमार्जनपछि शनिवार सहमति सार्वजनिक गर्ने दाबी गरेका थिए। एकैछिनको मात्रै काम बाँकी रहेको उनीहरूको दाबी थियो।