काठमाडौं। नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलको बैठक बसिरहेको छ। बैठक सिंहदरबारमा दिउँसो तीन बजेदेखि जारी छ। कार्यदलले आज सहमतिको मस्यौदालाई सार्वजनिक गर्ने बताएको छ। शुक्रबारको बैठकमा विवादित विषयमा सहमति भएको नेताहरूले दाबी गरेका थिए।
कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गरिने उनीहरूको छ। एकता कार्यदलले एमालेको एकता जोगाउने बटम लाइन भनिएको पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने विषयमा सहमति जुटाएको जनाइएको छ। पहिले सक्रिय भएर डेढ महिना अघि बिथोलिएको र यही साता पुनः सक्रिय बनाइएको कार्यदलले शुक्रवार करिब ८ घण्टा लामो बैठकपछि यो सहमति जुटाएको नेताहरूले बताएका छन्।
सिंहदरबारमा ८ घण्टा चलेको बैठकपछि नेताहरूले सहमति जुटेको र त्यसमा केही भाषागत विषय मिलाउनुपर्ने भएकाले सहमतिलाई शनिवार अन्तिम रूप दिएर सार्वजनिक गरिने बताए। कार्यदल सदस्य गोकर्ण विष्टले केही विषय मात्र टुंगिन बाँकी रहेको र ती विषय शनिवार टुंगिने बताए। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभाको विघटनपछि एमालेमा विवाद बल्झिएको थियो।
प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग दाबीसहित सर्वोच्चमा दायर रिटमा समावेश एमाले सांसदका हस्ताक्षर फिर्ताबारे कार्यदलमा महत्त्वपूर्ण सहमति भएको बताइएको छ।



लोकपाटी न्यूज

