काठमाडौं। नेकपा एमालेको कार्यदलको बैठक सुरु भएको छ। एमाले विवाद सल्टाउन गठित १० सदस्यीय को कार्यदलको आजको बैठकमा जम्मा तीन जना उपस्थित भएका छन्।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी वार्तामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङ उपस्थित भएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल समूहको तर्फबाट उपाध्यक्ष भीम रावल मात्र सहभागी भएको बताइएको छ।
कार्यदलमा नेपालनिकट नेताहरुमध्ये उपाध्यक्ष भीम रावल र घनश्याम भुसालका कारण बैठक लम्बिएको बालुवाटारको स्रोतले बताएको छ। उनीहरुबीच छुट्टाछुट्टै बैठक आयोजना गरी निश्कर्षमा पुग्न सहज हुने भन्दै आजको बैठक बोलाइएको पनि बताइएको छ।
स्रोतका अनुसार शुक्रबार साँझसम्मको वार्ताका लागि बाँकी कुरा मिलाउन आज कार्यदलभित्रैका सीमित नेताबीच छलफल गरेर निचोडमा पुग्न खोजिएको बताइएको छ।आज (शनिबार) सहमतिलाई अन्तिम रूप दिइने कार्यदलको तयारी छ। मस्यौदामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेर औपचारिक सहमति पत्र तयार गर्ने कार्यदल सदस्यहरूको तयारी रहेको बताइन्छ।
शुक्रबार सात घण्टाभन्दा बढी बसेको बैठकमा जुटेको सहमतिले एमालेको आन्तरिक विवादलाई किनारा लगाउनेमा कार्यदलका नेताहरू विश्वस्त देखिन्छन्। यद्यपि यसअघि नेताहरूबीच भएका भनिएका सहमति अन्तिम अवस्थामा भाँडिएको पनि छ।शुक्रबारको बैठकपछि कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा आफूहरू लगभग सहमतिमा पुगेको बताए थिए।
कार्यदलको बैठक सोमबारदेखि निरन्तर बसिरहेको छ। नेताहरूले हरेक दिन सहमतिको नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन्। जेठ २ गते गठन भएको कार्यदलले गएको सोमबारदेखि छलफल सुरु गरेको थियो।



लोकपाटी न्यूज

