विदेशमा उपचार गर्नेको खर्च राज्यले बेहोर्न मिल्दैन : गगन थापा

Gagan-Thapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका नेता गगन थापाले राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने जोसुकैलाई एक रुपैयाँ पनि दिन नमिल्ने बताएका छन्। प्रधानमन्त्रीको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम नरोकिएकोप्रति पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले विरोध जनाएका छन्। उनले कानून लागू भइसक्दा पनि सरकारबाट यसको उल्लंघन भइरहेको उनको आरोप छ।

एमाले नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको भारतको एपोलो अस्पतालमा लागेको उपचार खर्च सुरुमा एमाले पार्टीले नै गर्ने निर्णय भएको थियो। पछि उनको उपचार खर्च सरकारले तिर्ने निर्णय भएको समाचार सार्वजनिक भयो। सोही निर्णयबारे उनले विरोध जनाएका हुन्।

‘उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो। यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौं र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौं। तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन,’ नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्।

यसका लागि कानून नभई नहुने देखेपछि आफै लागेर कानून संशोधन गरेको उनको भनाइ छ। थापाले भनेका छन्, ‘कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने संशोधन प्रस्ताव राखेँ।’