काँग्रेस सभापतिका दाबेदार आठ नेताको बैठक जारी

लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेस संस्थापन इतर सभापतिका दाबेदारहरूको छलफल सुरु भएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा नेता अर्जुन नरसिंह केसीको संयोजनमा सभापति शेरबहादुर देउवा इतर समूहका सभापतिको एउटै उम्मेदवार बनाउन छलफलमा जुटेका हुन्।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेताहरू अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला, कृष्णप्रसाद सिटौला, बलबहादुर राई लगायत सहभागी छन्। यस पटक देउवाको हातबाट जसरी पनि काँग्रेसको नेतृत्व फुत्काउनु पर्नेमा सबै नेता सहमत भए पनि एकले अर्कालाई अस्वीकार गर्न सकेका छैनन्।

अघिल्लो पटक पौडेललाई सहयोग गरेका कोइराला परिवार, नेता सिंह नै यस पटक आफैँ सभापतिको उम्मेदवार बन्ने आकांक्षा राखिरहेका छन्। कोइराला परिवारका तीनै जना नेताले सभापतिमा उठ्ने तयारी अघि बढाएका छन्। नेता शेखर कोइरालालाई लामो समयदेखि सभापतिमा उठ्ने तयारी गरे पनि शशांक कोइरालाले देउवालाई पराजित गर्न सक्ने एक मात्र उम्मेदवार आफू मात्रै भएकाले सबैले सहयोग गर्नुपर्ने बताइरहेका छन्।

पौडेलले पनि अहिलेसम्म आफूले पार्टीमा नेतृत्व गर्ने अवसर नपाएकाले एक पटक पाउनुपर्ने जिकिर आफ्नै समूहभित्र गरिरहेका छन्। संस्थापन समूहमा भने अहिलेसम्म देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्ने घोषणा गरेका छन्। काँग्रेसको १४औँ आउँदो भदौ १६ देखि १९ गतेसम्म हुँदैछ।