बैठकबाट निस्किएका पोखरेलले भनेः सहमतिका लागि प्रयास गरिरहेका छौं

Shankar_Pokharel
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) को विवाद मिलाउन गठित कार्यदलको बैठक अहिले सिंहदरबारमा जारी छ। केही घण्टादेखि जारी छलफलमा आज सहमति खोज्ने प्रयास भइरहेको छ। केहीबेरअघि बैठकबाट निस्किएका कार्यदलका सदस्य लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आजै टुंग्याउने गरी छलफल भइरहेको बताए।

‘हामी सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौं। सम्भवतः आजै हामी टुङ्ग्याउँछौ,’ पोखरेलले भने। पार्टी विवाद मिलाउन कार्यदलको बैठक गत सोमबारदेखि लगातार बस्दै आएको छ। कार्यदलका सदस्यहरूले आफ्नो तर्फबाट ‘एजेण्डा’मा लगभग सहमति जुटिसकेको र त्यसलाई ‘फाइनलाइज’ गर्न मात्र बाँकी रहेको बताउँदै आएका छन्।

कार्यदलमा माधव पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त तथा भीम आचार्य लगायत ६ जना र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा उपमहासचिव विष्णु प्रसाद पौडेल, सचिव प्रदीप कुमार ज्ञवाली, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, विष्णु रिमाल रहेका छन्।