काठमाडौं। नेकपा एमालेमा क्रियाशील पूर्वमाओवादी नेताहरूले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न दिएको निवेदनबारे छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्। शुक्रबार आयोग कार्यालय पुगेका टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह लगायतका नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट निवेदनबारे छिटी निर्णय लिन आग्रह गरेका हुन्।
माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गरेका नेताहरुले बुधबार आफूहरुले दिएको उजुरीमाथिको कारवाही प्रक्रिया कहाँ पुगेको छ भनेर चासो राखेका छन्। अधिवक्ता सरोज बुढाथोकीमार्फत बुधबार उनीहरूको तर्फबाट माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए।
नेताहरूसँगै आयोग पुगेका केन्द्रीय सदस्य लिलबहादुर थापाले आयुक्तहरूसँग निवदेनबारे छलफल गरेको जानकारी दिए। ‘आयुक्तहरूसँग थप प्रमाण चाहिए ल्याउन तयार छौं, तपाईंहरू यसलाई द्रुत गतिमा अगाडि बढाउनुहोस् भन्यौं,’ थापाले भने, ‘तपाईंहरू कसैको डर, धाकमा नपर्नुहोस्, प्रमाण पुर्याएर दर्ता खारेजी गर्न खुट्टा नकमानुहोस् भन्ने आग्रह गर्यौं ।’
माओवादी केन्द्रले २०५९ देखि पार्टीको महाधिवेशन नगरेको, पार्टी एकताका नाममा आयोगलाई झुक्याएको लगायतका दाबी गर्दै दल दर्ता खारेज गर्नुपर्ने भन्दै निवेदन दिएका थिए। ‘उहाँहरुले कानूनी व्यवस्था यो-यो छ भन्नुभयो र सबै दलहरुको अवस्था त्यस्तै रहेको बताउनुभयो,’ नेता साहले भने, ‘अरुको कुरा होइन, हामीले माओवादी केन्द्रको विषयमा प्रश्न उठाएका हौं। यसबारे छिटो निर्णय होस् भनेका छौं।’
आयोगका अधिकारीहरुले छिट्टै निर्णय दिने आश्वासन दिएको नेता साहले जनकारी दिए। माओवादी छोडेर २०७७ फागुन २८ गते रामबहादुर थापासहित, रामाझी, थापा, लेखराज भट्ट, प्रभु साह लगायत नेताहरु एमाले प्रवेश गरेका थिए।एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरु सबैलाई कारवाही गरेको थियो। सोहिकारण उनीहरुको सांसद पद समेत गुमेको छ।



लोकपाटी न्यूज

