काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ। आन्तरिक विवाद मिलाउने प्रयासमा ब्युँताइएको एमाले कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो।
बैठकमा पार्टीभित्र कायम विवाद र त्यसको समाधानबारे छलफल हुने अध्यक्ष केपी ओली पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए। पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटकपटक कार्यदलको बैठक बसिरहेको छ।
बिहीबार पनि कार्यदलको बैठक बसेको थियो भने सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए। तर, नेता बिहीबार साँझ बैठकस्थलबाट बाहिरिने क्रममा घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए। बिहीबार साँझ बसेको कार्यदलको बैठक अर्थमन्त्री एवं कार्यदल सदस्य विष्णु पौडेल मन्त्रिपरिषद् बैठकमा व्यस्त भएपछि ठोस निष्कर्षमा नपुगेरै स्थगित भएको थियो।
आज बिहान साढे ११ बजे बस्ने भनिएको कार्यदल बैठक नेता पौडेल प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएपछि बैठक १ घण्टापछि सारिएको थियो। माधवकुमार नेपाल समूहबाट कार्यदलमा सदस्य रहेका नेताहरु ढिलोगरी बैठकस्थलमा पुगेका छन्।



लोकपाटी न्यूज

