नेपाल पक्षका कार्यदल सदस्यलाई कुर्दै ओली पक्ष

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको शुक्रवार बिहान ११ बजे बस्ने भनेको बैठक अझैँ सुरु हुन सकेको छैन। बिहीबार साँझ बसेको बैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको थियो। त्यसअघि बिहीबार बिहानको बैठक पनि साँझसम्मका लागि स्थगित गरिएको थियो।

साँझको बैठक कार्यदल सदस्य विष्णु पौडेल मन्त्रिपरिषद् बैठकमा सहभागी हुने भएपछि स्थगित भएको थियो। बैठकका लागि एमाले अध्यक्ष ओलीतर्फका कार्यदल सदस्यहरू सिंहदरबार पुगेका छन्। तर, वरिष्ठ नेता नेपालपक्षका सदस्यहरू आइनपुगेकाले बैठक सुरु हुन नसकेको हो।

नेपालपक्षका कार्यदल सदस्य घनश्याम भुसालले आफूहरू बैठकमा जान लागेको बताए। बिहीबार साँझको बैठकबाट निस्कने क्रममा भुसालले १० दिनयताका बैठक र वार्तामा कुनै प्रगति नभएको बताएका थिए। तर, कार्यदलका अर्का सदस्य सुवास नेम्वाङले भने शुक्रवार सहमति जुट्न सक्ने बताएका थिए।