पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा

Oli Teams ex-maoist
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा क्रियाशील रहेका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेका छन्। माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गरेका उनीहरू उक्त निवेदन छिटो कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन आयोग गएका हुन्।

नेताहरु मणिचन्द्र थापा, प्रभु शाह, टोप बहादुर रायमाझी र गोरीशंकर चौधरी निर्वाचन आयोग पुगेका हुन्। एमालेमा क्रियाशील पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। ‘अस्ति निवेदन दर्ता भएको छ। त्यसमा छिटो निर्णय होस् भन्न आयोग आएका हौं,’ थापाले भने।

माओवादी केन्द्रको वैधानिकता समाप्त भैसकेकोले आफूहरुलाई गरिएको कारबाहीले पनि मान्यता पाउन नहुने उनीहरुको जिकिर छ। माओवादी केन्द्र त्यागेर एमाले रोजेका उनीहरुलाई पार्टीले कारबाही गरेपछि सांसद पद गुमेको थियो भने मन्त्री पदबाट पनि हट्नु परेको थियो।

माओवादी केन्द्रको सातौं महाधिवेशन २०६९ साल माघमा भएको थियो। राजनीतिक दल सम्बन्धी व्यवस्थामा पाँच वर्षभित्रै महाधिवेशन गरिसक्नुपर्ने प्रावधान छ। ६ महिना म्याद थप्न मिल्ने प्रावधान बमोजिम पनि ७५ असार भित्रै भैसक्नुपर्ने महाधिवेशन अहिलेसम्म नभएकोले माओवादी केन्द्रको वैधानिकता स्वतः खारेज भएको दाबीसहित माओवादी छाडेका नेताहरुले आयोगमा निवेदन दिएका हुन्।