बागलुङ। बागलुङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। धौलागिरी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो। योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ।
बागलुङ नगरपालिका–३ का ५५ वर्षीया महिलाको धौलागिरी अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले बताए। ती महिलाको पित्त थैलीमा समेत समस्या थियो। कोरोना संक्रमणभइ गत असार १९ गते अस्पतालको सघन उपचार कक्षा भर्ना गरिएका उनको शुक्रबार बिहान १ बजे निधन भएको घिमिरेले जानकारी दिए।
यस्तै, बिहीबार राति अक्सिजन कमि भइ अस्पताल भर्ना गरिएका बागलुङ नगरपालिका–२ का ७७ वर्षीय पुरुषको अस्पतालमा भर्ना गरेको केही समयमै मृत्यु भएको हो। उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। मृत्यु भएका पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो। जिल्लामा अहिले पनि २ सय ४५ जना कोरोनाका सक्रिय संक्रमित छन्।



लोकपाटी न्यूज

