काठमाडौं। नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संस्थापन इतर पक्षबाट सभापतिमा दाबी गर्ने नेताहरूको बैठक बोलाएका छन्।
केसीले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, डा रामशरण महत, डा शेखर कोइराला, नेतृ सुजाता कोइराला लगायतलाई बोलाएका हुन्।
संस्थापन इतर पक्षबाट साझा उम्मेदवार एक जना उठाउने विषयमा छलफल गर्न बैठक डाकेको बताइएको छ। एकल उम्मेदवार दिन नसक्ने अवस्था भए आफूले पनि सभापतिमा दाबी गर्ने केसीले बताउँदै आएका छन्।
सर्वसहमत एउटा उम्मेदवार उठाउन नसके शीर्ष नेताहरू सल्लाहकार समितिको रूपमा रहेर अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार हुनुपर्ने उनको जोड छ। बैठक अपराह्न ४ बजेपछि वसुन्धरास्थित दियालो फुडल्याण्डमा बस्ने जनाइएको छ।



लोकपाटी न्यूज

