काठमाडौं। नेपाली कांग्रेसमा क्रियाशील सदस्यता वितरणमा अन्तुष्टि बढेको छ। पार्टीका नेता रामचन्द्र पौडेल पक्षले समायोजनका नाममा संस्थापन पक्षले पार्टी कब्जा गर्न लागेको ठहर गरेको छ। पार्टीबाट प्रवेश गरेको नाममा हजारौं व्यक्तिलाई विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको सो पक्षको आरोप लगाएको छ।
बिहीबार वरिष्ठ नेता पौडेल पक्षले समायोजनका नाममा आएका क्रियाशील सदस्यताको विवादबारे समायोजन र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेको थियो। अनुपम फुडल्याण्डमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मिनेन्द रिजाललगायत थिए।
समायोजन समितिका सदस्यहरु दिलेन्द्र बडु , दीपक गिरी, छानविन समितिका सदस्यहरू प्रदीप पौडेल, जीवन परियार, कल्याण गुरुङसमेत बैठकमा थिए। बैठकमा शीर्ष नेताहरूले विधानविपरीत आएका सदस्यताबारे कडा ढंगले प्रस्तुत हुन समितिका सदस्यहरूलाई निर्देशन दिएका छन्।
‘धेरै जिल्लामा विभिन्न पार्टीबाट प्रवेश गरेको भन्दै मनपरी ढंगले दिइएको क्रियाशील सदस्यताले कांग्रेसभित्र कांग्रेस नै अल्पमतमा पर्ने देखियो। त्यसैले त्यस्ता सदस्यता कायम हुन नदिने विषयमा कडा ढंगले प्रस्तुत हुने निष्कर्ष बैठकले निकालेको छ,’ बैठकमा सहभागी एक नेताले भने।



लोकपाटी न्यूज

