एमालेको विवाद समाधान गर्न अब लामो समय लाग्दैन : विष्ट

Gokarna Bista-4
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीभित्रको विवाद अब लामो समय नरहने बताएका छन्। वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट कार्यदल सदस्य रहेका नेता विष्टले बैठकमा प्रगति भएकोले विवाद समाधानका लागि अब लामो समय नलाग्ने बताएका हुन्।

‘कतिपय विषयमा मोटामोटी हिजोभन्दा आज थप प्रगति भएको छ, केही कुरामा बाँकी छ। ती कुरालाई टुंगो लगाउने गरी आज बेलुका नै अर्को बैठकको आयोजना गर्ने गरी बैठक स्थगित भएको छ,’ आजै सहमति हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘समयको हिसाबमा एकिनका साथ त्यसो नभनौं, दुई-चार, पाँच-सात घण्टा छलफलले समय लिन सक्छ। तर, हामी निष्कर्षमा पुग्नका लागि अब लामो समय लाग्दैन। लगभग-लगभग समाधानको बिन्दुमा आएका छौं।’

बिहीबार केहिबेर बैठक बसेर कार्यदलका सदस्यहरू बाहिरिएका थिए। बैठक आज साँझ ७ बसे फेरि बस्ने तय भएको छ। पार्टीमा देखिएको विवाद समाधान तर्फ उन्मुख भएको र कार्यदल सहमति नजिक पुगेको नेताहरूको दाबी छ। सम्भवतः आजै साँझसम्ममा सहमतिमा पुग्ने नेताहरूको प्रतिक्रिया छ।

हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच भएको संवादपछि बसेको आजको बैठकमा दुई जनाबीच भएको संवादलाई मध्यनजर गर्दै र कार्यदलले औपचारिक/अनौपचारिक रूपमा भएका विषयका बारेमा आजको बैठकमा छलफल भएको उनले बताए।

आज बेलुकासम्ममा पार्टी विवादबारे समाधान खोज्नेमा आफू आशावादी भएको विष्टले बताए। ‘आज बेलुका धेरै हदसम्म समाधान खोज्छौ। म आशावादी छु कि अब हामीलाई धेरै समय लाग्ने वाला छैन,’ उनले भने।