एकता कार्यदलको बैठकअघि पौडेल र रावल छलफलमा

Bhim_Rawal-Bishnu_Paudel
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको एकता कार्यदलको बैठक अघि नेताद्वय विष्णुप्रसाद पौडेल र भीम रावलबीच छलफल भएको छ। उनीहरुबीच बिहीबार बिहान सिंहदरबारमा छलफल भएको बुझिएको छ।

एमाले एकता कार्यदलको बैठक बिहान ११ बजे बस्दैछ। बैठक अघि नेताद्वय पौडेल र रावलबीच विवाद समाधान गर्ने विषयमा छलफल भएको स्रोतको जनाएको छ। पार्टीको विवाद समाधान गर्न दोस्रो तहका नेताहरू सक्रिय बनेका छन्।

यसअघि, बुधवार राति अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। छलफलमा ओलीले आफ्नै नेतृत्वको सरकारको निरन्तरताका लागि ‘निःसर्त’ सहयोग गर्न नेता नेपालसँग प्रस्ताव राखेका थिए। तर, नेता नेपालले सरकार र पार्टी संगठनमा ‘सम्मानजनक सहकार्य’ देखिने गरी शक्ति बाँडफाँड हुँदा मात्रै पार्टी एकतालाई बचाएर लैजान सकिने जवाफ दिएका छन्।

राजनीतिक र सांगठनिक शक्ति बाँडफाँडमा सहमति नजुटेपछि छलफल विनानिष्कर्ष टुंगिएको थियो। दुवै पक्षलाई ‘विन-विन’ हुने गरी शक्ति बाँडफाँड गर्ने नेपालको प्रस्तावलाई ओलीले अस्वीकार गरेका बताइएको छ। यद्यपि नेपालका तर्फबाट वार्तामा भाग लिएका नेता भीम रावलले छलफल सकारात्मक रहेको संक्षिप्त प्रतिक्रिया दिएका थिए। नेता सुरेन्द्र पाण्डेले पनि सोही जवाफ दिए।