काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली र आफूहरू कुनै पनि कोणबाट उस्तै नभएको बताएका छन्।
बुधबार पाँच दलीय गठबन्धन निकट विद्यार्थी सङ्गठनका अध्यक्षहरूसँगको ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले जनताका पक्षमा दृढ रहेर नेताहरूलाई आन्दोलित गराइराख्न युवा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने भन्दै विद्यार्थीहरूले परिस्थितिको सही मूल्याङ्कन गर्दा सही सूचना सम्प्रेषण हुने समेत बताए।
उनले ओली चारैतिर घेरामा परिसकेको भन्दै आफूहरू बलियो बन्दै गएको स्पष्ट पारे। प्रचण्डसँगको भेटमा विद्यार्थी नेताहरूले केपी ओलीको कुशासनको ठाउँमा सुशासनको अपेक्षा गरेको बताएका थिए। त्यसका लागि विद्यार्थीहरुले गर्ने अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भइदिन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए।
जनतामा छाएको निराशालाई आशामा परिणत गर्न नेताहरूले सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने विद्यार्थीहरूको आग्रह थियो।



लोकपाटी न्यूज

