काठमाडौं। नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री वा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन्। न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले आगामी महाधिवेशनमा आफूले उम्मेदवारी दिने पक्का भएको तर महामन्त्री र उपसभापतिमध्ये कुन पद टुंगो नभएको बताए।
‘सभापति पदमा शेरबहादुर दाइ आफैँ लड्छु भनेकाले सभापति पदमा दाबी छैन। म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो। म चुनाव लड्ने हो,’ उनले भने। यसको औपचारिक घोषणा भने टिम बनेपछि गर्ने डा. महतले बताए।
‘औपचारिक रूपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो। तर म सहमहामन्त्री भन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु। यसको औपचारिक घोषणा केही समयपछि गर्छु,’ उनले भने। नेता महतले आफू पार्टीकै नेतृत्व गर्न योग्य भए पनि अग्रज नेता हुँदाहुँदै अगाडि बढ्न नसक्ने बताए।
‘हाम्रो अग्रज दाइहरु हुँदाहुँदै अगाडि बढ्न सकिने अवस्था छैन। यसले हामीलाई नै घाटा छ भन्ने जान्दाजान्दै पार्टीको परम्परा र संरचनाले र अनुभवले दाइहरुको सान्दर्भिकता अहिले पनि छ,’ उनले भने। १४ औँ महाधिवेशनमा सभापतिमा संस्थापन पक्षबाट शेरबहादुर देउवाले नै सभापतिमा उम्मेदवारी दिने भन्दै उनले उपसभापति विमलेन्द्र निधिले विचार परिवर्तन गर्न सक्ने बताए।
‘धेरै साथीहरूले विमलेन्द्रजीलाई सल्लाह दिँदा अहिलेको अप्ठेरो अवस्थामा शेरबहादुर जीले एक पटक नेतृत्व गर्छु भन्नुभएको छ। …यद्यपि उहाँ (विमलेन्द्र निधि) ले लड्छु भन्नुभएको छ,’ डा. महतले भने, ‘तर म के भन्छु भने अहिले नै अन्तिम टुंगो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुँदैन। नोमिनेसन गर्ने बेलासम्म उहाँले विचार परिवर्तन गर्न सक्नुहुन्छ।’
उनले नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले गरिरहेको भेटघाटले राम्रो सन्देश नदिएको पनि बताए। पार्टीको संस्थापक नेताका पुत्र यी नेताहरूले गरिरहेको भेटघाटप्रति टिप्पणी गर्दै उनले पार्टी समग्र जनताको छोराछोरीको भएको बताए। ‘उहाँहरूले जसको बुबाहरु नेता हुनुहुन्थ्यो, त्यसमा मात्रै सीमित भएर पटक पटक बैठक बस्नुभयो। यसले उहाँहरूको लागि सकारात्मक सन्देश दिएको जस्तो मलाई लाग्दैन,’ उनले भने।



लोकपाटी न्यूज

