‍माओवादी केन्द्रविरुद्ध उजुरी दिने एमाले नेताहरुको तयारी

Oli Teams ex-maoist
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेमा लागेका पूर्वमाओवादी नेताहरूले नेकपा माओवादी केन्द्रविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने भएका छन्। माओवादी केन्द्रको वैधानिकता समाप्त भैसकेको दाबी गर्दै माओवादी पृष्ठभूमिका एमाले नेताहरूले आयोगमा निवेदन दिन थालेका हुन्।

उनीहरूले बुधवार दिउँसो साढे १२ बजे निर्वाचन आयोगमा निवेदन बुझाउन जाने तयारी गरेका छन्। माओवादी केन्द्रको सातौं महाधिवेशन २०६९ साल माघमा भएको थियो। राजनीतिक दल सम्बन्धी व्यवस्थामा पाँच वर्षभित्रै महाधिवेशन गरिसक्नुपर्ने प्रावधान छ। ६ महिना म्याद थप्न मिल्ने प्रावधान बमोजिम पनि ७५ असार भित्रै भइसक्नुपर्ने महाधिवेशन अहिलेसम्म नभएकोले माओवादी केन्द्रको वैधानिकता स्वतः खारेज भएको दाबीसहित माओवादी छाडेका नेताहरूले आयोगमा निवेदन दिन थालेका हुन्।

सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका कारण तत्कालीन प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई कारबाही गरेको थियो। त्यही कारणका कारण उनीहरूको सांसद पद गयो। अवैधानिक पार्टीले गरेको कारबाहीका कारण जनताबाट निर्वाचित आफूहरूको पद गएको एक नेताले दाबी गरे।