सप्तरी। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताएका छन्। सप्तरीको सदरमुकाम राजविराजमा आज रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन्।
उनले भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको विषय नभइ सम्पन्नताको प्रतीक भएको बताए। प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै सकिने बताएका छन्। जग्गा प्राप्त भएको, डिजाइन बनेको तथा बजेटको पनि व्यवस्था भइसकेकाले काम चाँडै सकिने उनले दाबी गरेका छन्। यो काममा पालिका, जनप्रतिनिधि र आम जनताको सहयोग हुने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे।
११ अर्ब ९८ करोड रुपैयाँको अनुमानित लागतमा ६२ बिघा जग्गामा प्रतिष्ठान निर्माण हुन लागेको हो। प्रतिष्ठानको विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) का लागि १५ करोड रुपैयाँ छुट्याइएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा. रणजीत कुमार झाले जानकारी दिए। डीपीआर गर्न पाँच/छ महिना लाग्ने उनकाे भनाइ छ।



लोकपाटी न्यूज

