काठमाडौं। एमाले विवाद समाधानका लागि गठित कार्यदलले विषयकेन्द्रित छलफल थालेको छ। एमाले नेता भीम रावलले पार्टीमा देखिएको विवाद समाधनका लागि पुनर्जिवित गरिएको कार्यदल विषयवस्तुमा प्रवेश गरेको र भोलिबाट विवादका विषयमा ठोस सहमति खोजिने बताएका छन्।
मंगलबार बसेको पार्टी एकताका लागि गठित कार्यदलको बैठकपछि रावलले पार्टी एकता नजिताउन्मुख भएको दाबी गरे। उनले भने, ‘नेकपा एमाले पुनर्जीवित भइसकेको अवस्थामा उत्पन्न समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेमा छलफल गरेका छौं। यस सम्बन्धमा साथीहरुले पनि आआफ्नो विचार र दृष्टीकोण राख्नु भयो। अब त्यस सम्बन्धमा भोलि थप बैठक बस्ने छौं।’
कार्यदलका अर्का सदस्य रघुजी पन्तले पनि विषयवस्तुकेन्द्रित छलफल सकारात्मक रहेको बताए। उनले भने, ‘छलफल सकारात्मक छ, सबैले सुझाब राख्नुभएको छ।’ अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने भनिएको संयुक्त वक्तव्यको विषयमा भने प्रवेश नै नभएको पन्तले जानकारी दिए।
पार्टीलाई २०७५ जेठ २ बाट अगाडि बढाउने, सर्वोच्चमा दायर रिट र फैसलापछि पार्टीलाई अगाडि बढाउने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। नेता सुवासचन्द्र नेम्वाङले बिहान साढे ८ पुन: बस्ने गरी आजको बैठक टुंगिएको जानकारी दिए।
‘आजको बैठक सकियो। भोलि बिहान साढे ८ बजेदेखि फेरि बस्ने छ। सबै विवादका विषयमा छलफल भएको छ,’ नेता नेम्वाङले भने, ‘विवादका विषयमा कार्यदलका सबै सदस्यले आफ्ना धारणा राख्नुभएको छ।’



लोकपाटी न्यूज

