एमाले कार्यदलको बैठक आज पनि, यस्तो छ तयारी

UML_Karyadal
लोकपाटी न्यूज

काठमाडौं। सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको कार्यदलका सदस्य एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए। बैठकमा हिजो भएको छलफललाई निरन्तरता दिइने नेताहरूले बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले दोस्रो पटक गत जेठ ७ गते मध्य राति प्रतिनिधि सभा विघटन गराएपछि निष्क्रिय बनेको एमाले कार्यदल सोमबारदेखि पुनः ब्युँतिएको हो। कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो।

सोमबार अर्थ मन्त्रालय (सिंहदरबार) मा बसेको कार्यदलको पहिलो बैठक सकारात्मक रहेको नेताहरूले बताएका छन्। बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन भएको नेताहरूले बताएका छन्। पहिलो बैठकमा पार्टी एकताका लागि अहिलेसम्म भएका औपचारिक/अनौपचारिक पहल/वार्ताको पुनरावलोकन गरिएको र आज थप छलफल गरिने कार्यदलका सदस्य घनश्याम भुसालले जानकारी दिएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र विघटनविरुद्ध सर्वोच्च अदालतमा गरिएको एमालेका २३ सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले विघटनको निर्णय फिर्ता लिनुपर्ने माग राखेका थिए। यस्तो अवस्थामा दुवै समूहका अडानलाई राजनीतिक निर्णय मान्दै बिचबाट सहमति जुटाउने पहल भएको हो।

एमालेका एक नेताका अनुसार पार्टीको विवाद समाधानका लागि मध्यमार्गी सहमतिको प्रयास थालिएको छ। प्रतिनिधि सभा विघटन र त्यसविरुद्धको हस्ताक्षर दुवै फिर्ता लिनुपर्ने अडानबाट मध्यमार्गी सहमतिको लागि वार्ता थालिएको हो।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरूमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन्। वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरूमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन्।