एमालेले फेरि ‘बयलगाढा सिद्धान्त’ फर्काउन लागेको तामाङ राष्ट्रिय मुक्ति मोर्चाकाे आराेप

लोकपाटी न्यूज

काठमाडाैँ। एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले सत्तारुढ दल नेकपा एमालेले देशलाई फेरि ‘बयलगाढा सिद्धान्त’ मा फर्काउन लागेको आरोप लगाएको छ।

सोमबार मोर्चाका संयोजक सुर्यमान दोङ ‘लालध्वज’ ले एक विज्ञप्ति जारी गर्दै एमालेले देशलाई संविधानको विरुद्धमा उभ्याउँदै ‘बयलगाढा सिद्धान्त’ मा फर्काउन लागेको आरोप लगाएका हुन्। एमाले केन्द्रीय कमिटिको १३ औँ बैठकमा संघीयताको बारेमा समीक्षा गर्ने र धर्मनिरपेक्षताबारे बहस गर्नुपर्ने विषयमा उठेको सवाल तथा छलफलको विषयमा ध्यानाकर्षण भएको भन्दै मोर्चाले महेश बस्नेतको नाममा दर्ता भएको संघीयताको समीक्षा गर्ने एवं धर्मनिरपेक्षताबारे बहस गर्ने प्रस्ताव र एमाले अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय चालिरहेको असंवैधानिक कदमले सिंगो एमाले यो परिवर्तनको विपक्षमा छ भन्ने प्रष्ट भएको जनाएको छ।

‘सर्वविदितै छ, जतिबेला देशमा गणतन्त्रका लागि आन्दोलनको आँधीबेहरी चल्दै थियो, त्यतिबेला अहिलेका प्रधानमन्त्री ओली ‘बयलगाढा सिद्धान्त’ पतिपादन गर्दै थिए। ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भन्ने ओलीको सिद्धान्तविपरीत मुलुकमा आएको गणतन्त्रप्रति ओलीको रुचि नभएको उनको अभिव्यक्तिहरुले पुष्टि गरिसकेको छ। ओलीको पछिल्लो प्रतिगामी कदम र एमाले बैठकमा उठेको परिवर्तनविरोधी आवाजले एमालेले फेरि देशलाई ‘बयलगाढे सिद्धान्त’ मा फर्काउन लागेको आशंका उत्पन्न भएको छ।’ मोर्चाले विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्