हस्ताक्षर फिर्ता हुँदैन, ओलीले जे गर्छन् गरुन् : खतिवडा

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका सांसद विरोध खतिवडाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता नलिने बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सोमबार साँझसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए। उनले हस्ताक्षर फिर्ता नलिए एमाले नरहने चेतावनी समेत दिएका थिए।

अहिलेसम्म ओलीले यस्तो चेतावनी धेरै पटक दिएको उल्लेख गर्दै नेपाल समूहका नेता खतिवडाले आफूहरूले हस्ताक्षर फिर्ता नलिने बताए। ‘ओलीले यस्तो चेतावनी अहिलेसम्म धेरै पटक दिए,’ उनले भने ‘हाम्रो केही तयारी छैन। पाँच बजेपछि जे गर्छन् गरुन्।’ काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गर्दा एमालेका वरिष्ठ नेता नेपाल समूहका २३ जनाले हस्ताक्षर गरेका थिए।

ओलीले देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिन दिएको समय आज साँझ बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन चेतावनी दिएका छन्। आफू निकट केन्द्रीय समिति बैठकमा ओलीले हस्ताक्षर फिर्ता नलिए एमाले हुन नसक्ने बताएका थिए।

‘सर्वोच्च अदालतको संवैधानिक इजलासबाट रिटको फैसला हुँदासम्म पार्टी नेतृत्वको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर कायम राख्ने पार्टीका नेता कार्यकर्ता होइनन्,’ ओली भनेका थिए, ‘अदालतको फैसला आउँदासम्म पनि हस्ताक्षर फिर्ता नगर्नेलाई फैसला आएको भोलिपल्ट बस्ने केन्द्रीय समिति बैठकले असाधारण निर्णय गर्नेछ।’